संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुपर्ने माग गरेका छन्।
सोमबार समितिको वार्षिक कार्ययोजनाबारे छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका लागि प्री–बजेट छलफललाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ, जसअघि संसदमा प्री–बजेट छलफल गर्ने अभ्यास रहँदै आएको छ।
सांसदहरूले आगामी बजेटमा क्षेत्रीय सन्तुलन र प्राथमिकताका विषयलाई जोड दिनुपर्नेमा पनि जोड दिएका छन्। घनश्याम रिजालले प्री–बजेट छलफल अनिवार्य रूपमा अघि बढाउनुपर्ने बताए।
रेखा कुमारी झाले मधेशलाई केन्द्रमा राखेर आगामी बजेट ल्याउनुपर्ने बताइन्। उनका अनुसार नयाँ सरकार गठनमा मधेशको भूमिकालाई ध्यानमा राखेर त्यसअनुसार न्यायोचित बजेट विनियोजन हुनुपर्छ।
त्यस्तै सावित्री मल्लले पनि अर्थमन्त्रीलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले मधेश, कर्णाली लगायत पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा योजना बनाउन सरकारसँग आग्रह गरिन्।
२०८२ चैत ३० गते सोमवार १७:१२ बजे प्रकाशित






















