संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताएकी छन्।
सरकारले वैशाख १७ गतेका लागि आह्वान गरेको संसद् अधिवेशन भोलिपल्टै स्थगन गरेर अध्यादेशको बाटो रोजेको भन्दै उनले आपत्ति जनाएकी हुन्। विशेषगरी संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई अध्यादेश अघि बढाउने तयारीप्रति उनले असन्तुष्टि व्यक्त गरिन्।
“जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो,” उनले मंगलबार भनिन्, “स्पष्ट बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशको बाटो रोज्नुको कारण रहस्यमय र अनुचित छ।”
उनका अनुसार संवैधानिक परिषद् जस्तो महत्वपूर्ण राज्य अंग र सहकारी क्षेत्र जस्तो आम जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयलाई संसद्मा छलफल नगरी अध्यादेशमार्फत ल्याउनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएकि छन् ।
२०८३ वैशाख १५ गते मंगलवार १७:४५ बजे प्रकाशित























