बजेटमा शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रका सबैभन्दा बढी सुझाव
काठमाडौं। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन सरकारले सञ्चालन गरेको ‘सुझाव संकलन पोर्टल’मा शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रसँग सम्बन्धित सबैभन्दा बढी सुझाव प्राप्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबार बिहान ११:१० बजेसम्म पोर्टलमार्फत कुल ४ हजार ८५२ सुझाव प्राप्त भएका छन् । तीमध्ये १ हजार ६४३ सुझाव बजेट सम्बन्धी र २ हजार ३३१ सुझाव नीति सम्बन्धी रहेका छन् ।
क्षेत्रगत रूपमा शिक्षा, स्वास्थ्य र विज्ञानसँग सम्बन्धित ९०६ सुझाव प्राप्त भएका छन्, जुन सबैभन्दा बढी हो । त्यसपछि अर्थ, उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित ८८१ सुझाव प्राप्त भएका छन् । पूर्वाधार विकाससम्बन्धी ८५४ सुझाव तेस्रो स्थानमा रहेका छन् ।
यस्तै, अन्तरसरकारी समन्वय सम्बन्धी ७९९, वन तथा वातावरण सम्बन्धी २६०, कर्मचारी प्रशासन सम्बन्धी १८५, नागरिक सेवा सम्बन्धी १८४, सुशासन सम्बन्धी १५२, सार्वजनिक वित्त व्यवस्थापन तथा सामाजिक सुरक्षासम्बन्धी समान ११३/११३, कानुन तथा न्याय सम्बन्धी १०६, भूमि प्रशासन सम्बन्धी ९९ तथा अन्य विषयमा २०० सुझाव प्राप्त भएका छन् ।
सरकारले आगामी नीति तथा कार्यक्रममा नागरिकका सुझाव समेट्ने उद्देश्यले १३ विभिन्न क्षेत्रमा सुझाव मागेको थियो । शनिबार साँझदेखि सञ्चालनमा आएको पोर्टलमार्फत देश–विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ तथा नीति निर्माताहरूले आफ्ना राय–सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैबीच, संघीय संसद्को बजेट अधिवेशन सोमबारबाट सुरु हुँदैछ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को पहिलो बैठकमै प्रस्तुत गरिने तयारी सरकारले गरेको छ ।
२०८३ वैशाख २७ गते आइतवार १७:३७ बजे प्रकाशित























