मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्व पद वा सत्ताको हैसियत मात्र नभई देशलाई कस्तो दिशा दिने भन्ने कुरा महत्वपूर्ण हुने बताए।
“मैले राजनीतिलाई ठूलो सपनाको रूपमा अघि सारेको थिएँ। मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन,” लामिछानेले भने, “तर देशलाई कस्तो नेतृत्व दिइन्छ भन्ने कुरा महत्वपूर्ण हो।”उनले आफूहरू पार्टी सभापति, मन्त्री वा प्रधानमन्त्री बन्न मात्र राजनीति नभएको स्पष्ट गर्दै त्यस्तो धारणा गलत बुझाइ हुने बताए।
लामिछानेका अनुसार आफूहरू जीवनी लेख्ने यात्रामा नभई इतिहास लेख्ने अभियानमा छन्। उनले सांसदहरूलाई निरन्तर सिकाइ र आत्मसुधारलाई राजनीतिक जीवनको अनिवार्य हिस्सा बनाउनुपर्नेमा जोड दिए।
विश्व राजनीतिले नयाँ मोड लिइरहेको अवस्थामा पार्टीको उदय भएको उल्लेख गर्दै उनले परिवर्तनलाई स्वाभाविक प्रक्रिया बताए। “विद्रोह समाजको निरन्तर प्रक्रिया हो,” उनले भने, “हामीले सही ढंगमा राजनीति अघि बढाउन र संसदीय अभ्यासलाई मर्यादित बनाउन विद्रोह गरेका हौं।”
२०८३ वैशाख २७ गते आइतवार १७:४५ बजे प्रकाशित























