"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ: प्रधानमन्त्री शाह

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताए ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट  पारे ।

प्रधानमन्त्री शाहले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन । नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।”

नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताए।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे । “हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,” उनले भने ।

नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्‍याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो । साथै, उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको स्पष्ट पारे ।

भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकले नै सबैभन्दा बढी पीडा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तरराष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए ।

२०८३ जेठ १२ गते मंगलवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु