"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

​ काठमाउपत्यकामा लाखौँ मानिसले पिउने जारको पानीमाथि गम्भीर प्रश्न, पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वास्तविकता भने डर लाग्दो छ । कतै जार चुहिने, कतै लेउ लागेका, कतै धुलो र फोहोर भरिएका जार उपभोक्ताको भान्सासम्म पुगिरहेका छन् ।

जडीबुटीका पवन बानियाँले पसलबाट साटेर ल्याएको जार घर पुगेपछि चुहिने निक्लियो । गुनासो गर्दा पसलेको जवाफ थियो– “हामीलाई पनि यस्तै आएको हो ।” यही जवाफले अहिले काठमाडौँको जार पानी व्यवसायको वास्तविकता देखाउँछ दोष सबैले अर्कोलाई थोपर्छन्, तर जोखिम उपभोक्ताले खानुपर्छ ।

मेलम्ची आए पनि राजधानीमा खानेपानीको समस्या समाधान हुन सकेको छैन । बाध्यताले मानिसहरू जारको पानीमा निर्भर छन् । तर उपभोक्ताले पैसा तिरेर किन्ने पानीको भाँडासम्म सफा छैन । कतिपय जार यति फोहोर हुन्छन् कि बाहिरैबाट दुर्गन्ध आउने अवस्था हुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हालैको अनुगमनले अवस्था झनै भयावह देखाएको छ । धेरै उद्योगले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन’ को सामान्य मापदण्डसमेत पालना नगरेको पाइएको छ । गत साता मात्रै करिब १५० वटा कुच्चिएका, पुराना र प्रयोग गर्नै नमिल्ने जार बरामद गरेर नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा केही उद्योगमा पानी शुद्धीकरण गर्ने उपकरण नै गलत तरिकाले जडान गरिएको भेटियो । कतै जार धुने र पानी भर्ने काम एउटै कोठामा भइरहेको थियो भने कतै लाइसेन्स नै नवीकरण नगरी अर्कै कम्पनीको जारमा पानी भरेर बेचिएको पाइएको छ ।

ढुवानीको अवस्था झन् लाजमर्दो छ । नगर प्रहरीको निरीक्षणमा जारमाथि खुट्टा राखेर बोक्ने, धुलाम्मे गाडीमा जथाभाबी फालेर ओसार्ने दृश्य भेटिएका छन् । बाहिरै फोहोर लागेको जारभित्रको पानी सुरक्षित छ भनेर विश्वास गर्ने आधार नै कमजोर बन्दै गएको छ ।

उपभोक्ता अधिकारकर्मीहरूले यसलाई सीधा जनस्वास्थ्यसँग जोडिएको गम्भीर खेलवाड भनेका छन् । उनीहरूका अनुसार नाफाको लोभमा उद्योगीहरूले न्यूनतम सरसफाइसमेत बेवास्ता गरेका छन् । अनुगमन हुने, समाचार आउने तर कारबाही कमजोर हुने भएकाले समस्या ज्यूँका त्यूँ रहेको उनीहरूको भनाइ छ ।

नेपाल पानी उद्योग महासंघले भने सुधारको प्रयास भइरहेको दाबी गरेको छ । महासंघका अनुसार देशभर ६२० पानी उद्योग सञ्चालनमा छन् र पुराना जार नष्ट गर्ने अभियान सुरु गरिएको छ । तर बजारमा भइरहेको बेथिति हेर्दा उपभोक्ताले अझै ‘शुद्ध पानी’ भन्दा बढी ‘जोखिम’ किनिरहेको अनुभूति हुने अवस्था छ

२०८३ जेठ १४ गते बिहीवार १७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु