वीरगञ्ज महानगरका मेयर सिंहसँग ४ लाख धरौटी माग गर्ने अदालतको आदेश
काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएका मुद्दामाथि सुनुवाइ गर्दै धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।
अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार मेयर सिंहविरुद्ध दुईवटा कसुरमा मुद्दा दर्ता भएको थियो।
लिखत किर्ते सम्बन्धी मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरेको आरोपसम्बन्धी मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरिएको अदालतले जनाएको छ।
अदालतको आदेशअनुसार तोकिएको धरौटी बुझाएपछि उनी मुद्दाको अन्तिम टुंगो नलागेसम्म तारेखमा रहनेछन्। मुद्दाको थप सुनुवाइ अदालतमा जारी रहनेछ।
२०८३ जेठ १९ गते मंगलवार १७:२६ बजे प्रकाशित























