व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।
“नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, सिद्धान्त, व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले आन्दोलन कमजोर भएको उल्लेख गरे।
उनले आत्मकेन्द्रित चिन्तनलाई पराजित गर्न नसक्ने बेलासम्म गफाडीको गफमात्रै हुने उनले बताए ।
‘अब हामी कसरी अघि बढ्ने ? समाजवादी क्रान्तिको यो चरणमा प्रवेश गरेपछि कसरी नेपाली समाजलाई अघि बढाएर लैजाने हो ? त्यसका निम्ति कहाँबाट हामी चुक्यौं ? कहाँ गल्ती गर्यौं ? यो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भएको छ ? हामी सबैले आत्मसमीक्षा गरौं,’ नेपालले भने, ‘के हुन कारणहरू ? विचार, सिद्धान्त या हाम्रो व्यक्तिवादीताले ? मै हुँ भन्ने प्रवृत्तिले, भ्रष्टाचार गर्ने प्रवृत्तिले ? के के कारणले हो ?’
उनले मदन भण्डारीलाई स्मरण गर्दै उनको विचार पछ्याउन आग्रह गरे ।
‘उहाँले परसम्मको दृष्टिकोण राखेर चल्नुहुन्थ्यो । समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो । वास्तविकताको धरातललाई जोड दिनुहुन्थयो । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले पार्टीको अनुशासन कहिले पनि तोड्नुभएन । थुप्रै संस्मरणका शृंखला छन्,’ नेपालले भने, ‘कुनै पनि प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा उहाँले जोड दिनुभएको छ । जबजका कतिपय पक्ष हामीले अहिले पनि ग्रहण गर्नुपर्ने हुन्छ ।’
२०८३ असार १४ गते आइतवार १८:१३ बजे प्रकाशित























