सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको पहिलो १०० दिन नागरिकलाई केन्द्रमा राखेर काम गरिएको भन्दै सुशासन र सेवा प्रवाहका क्षेत्रमा सुरुआती उपलब्धि हासिल भएको बताएको छन्।
शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको १०० दिने कार्यसम्पादनबारे समीक्षा गर्दै उनले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र नागरिकसँग प्रत्यक्ष सम्बन्धित विषयमा विशेष ध्यान दिएको बताए।
उनले विकास निर्माणका केही ठूला आयोजना दीर्घकालीन योजना अनुसार अघि बढिरहेको उल्लेख गर्दै भौतिक पूर्वाधारका क्षेत्रमा तत्कालै सबै परिणाम देखिन समय लाग्ने बताए। तीन वर्षे कार्ययोजनाअनुसार काम भइरहेकाले त्यसको उपलब्धि क्रमश: देखिने उनको भनाइ थियो।
सभापति लामिछानेले नागरिकलाई प्रदान गरिने सेवा डिजिटल, घरमै उपलब्ध हुने ९होम डेलिभरी० र कम झन्झटिलो बनाउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै सरकारको सुरुआत सकारात्मक रहेको दाबी गरे।
उनले सरकारको १०० दिनको अवधिमा भएका कमीकमजोरीबारे सञ्चारमाध्यम, नागरिक समाज र बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
२०८३ असार १९ गते शुक्रवार १७:५६ बजे प्रकाशित




















