"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौंसहित देशका अधिकांश स्थानमा भारी वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।

ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। उनले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गरे।

विभागमा अहिले प्राप्त अभिलेख अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर (अति भारी वर्षा) भएको छ ।

त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा)वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरि वर्षामापन केन्द्रमा गरिएको मापन अनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ ।

त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९ पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर (भारी वर्षा) भएको छ । अन्य अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको विभागले जनाएको छ । अहिले काठमाडौँसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लम्जुङ, खोटाङ बाग्लुङ, पर्वतलगायत जिल्लमा वर्षा जारी छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद् अर्यालले उल्लेख गरे।

सोही कारणले आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ । मौसमविद् अर्यालले वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको जानकारी दिए।

२०८३ असार २९ गते सोमवार १७:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु