एमालेमा नेतृत्व र उम्मेदवार चयन बदल्ने प्रस्ताव, उम्मेदवार छनोटमा ‘प्राइमरी इलेक्सन’को प्रस्ताव
काठमाडौं । एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीमा ७० वर्षे उमेर हद र प्रमुख कार्यकारी पदमा बढीमा दुई कार्यकालको सीमा पुनः लागू गर्नुपर्ने प्रस्ताव गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलले तयार गरेको प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अवसर दिन यस्तो व्यवस्था आवश्यक रहेको उल्लेख छ ।
कार्यदलले ‘एक व्यक्ति, एक पद’ को नीति लागू गर्नुपर्ने तथा एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी प्रधानमन्त्री, मन्त्री वा स्थानीय तहको प्रमुख हुन नपाउने व्यवस्था गर्न सुझाव दिएको छ ।
त्यस्तै, अध्यक्षकेन्द्रित शक्ति घटाएर कमिटीको अधिकार बढाउनुपर्ने र तल्ला कमिटीलाई थप अधिकार दिनुपर्ने प्रस्ताव पनि गरिएको छ ।
उम्मेदवार छनोटमा ‘प्राइमरी’ प्रस्ताव
कार्यदलले निर्वाचनका उम्मेदवार छनोटमा केन्द्रको प्रभाव घटाउनुपर्ने बताएको छ । संघीय, प्रदेश र स्थानीय तहका उम्मेदवार स्थानीय कमिटीको सिफारिस वा संगठित सदस्यबीचको आन्तरिक निर्वाचन (प्राइमरी) बाट छनोट गर्नुपर्ने सुझाव दिइएको छ ।
अन्तिम समयमा केन्द्रबाट उम्मेदवार परिवर्तन गर्ने अभ्यास अन्त्य गर्नुपर्ने कार्यदलको निष्कर्ष छ ।
प्रतिवेदनका यी प्रस्ताव कार्यान्वयन भए एमालेमा नेतृत्वको कार्यकाल, शक्ति बाँडफाँट र निर्वाचनमा उम्मेदवार छनोटको प्रक्रियामै महत्वपूर्ण परिवर्तन आउन सक्छ ।
२०८३ भदौ ९ गते मंगलवार १८:१४ बजे प्रकाशित























