रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन, चार प्रहरी कार्यालयमा क्षति
काठमाडौं । रसुवामा आएको बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन भएका छन्।
नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी बाढीपछि सम्पर्कविहीन रहेको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रमा खटिएका केही प्रहरी सम्पर्कमा आइसकेका छन् भने केही सम्पर्कमा आउने क्रममा छन्। तर, पछिल्लो विवरणअनुसार ३२ जना प्रहरी अझै सम्पर्कविहीन छन्।
बाढीका कारण रसुवाका विभिन्न प्रहरी कार्यालय तथा चौकीमा समेत क्षति पुगेको छ। प्रवक्ता काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङ प्रहरी कार्यालय प्रभावित भएका छन्।
यस्तै, सशस्त्र प्रहरीतर्फ बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सुरक्षा निकायका संरचना तथा जनशक्तिसमेत प्रभावित भएपछि बेपत्ता सुरक्षाकर्मीको खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
२०८३ भदौ १० गते बुधवार १३:३९ बजे प्रकाशित




















