"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौँमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्यो, कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी

काठमाडौँ । भोटेकोशी हिमबाढीपछि मुख्य सडकमार्ग अवरुद्ध हुँदा काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । वैकल्पिक तथा लामो बाटोबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेको भन्दै व्यवसायीले खाद्यान्न, तरकारी र फलफूलको मूल्य बढाएका हुन् ।

व्यवसायीका अनुसार उपत्यकाका गोदाममा तत्काल अभाव हुने गरी खाद्यान्नको मौज्दात भने कमी छैन । सामान्य अवस्थामा करिब तीन महिनालाई पुग्ने चामल र एक महिनासम्मका अन्य खाद्यान्न मौज्दात रहने बताइएको छ ।

तर, पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ठूला ट्रकमार्फत सामान भित्र्याउन नसक्दा ढुवानी खर्च बढेको छ । यसकै प्रभावले चामल, चिनी, दाल, तेललगायत वस्तुको मूल्यमा ५ देखि २० प्रतिशतसम्म वृद्धि भएको व्यवसायीले बताएका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातामै चिनी प्रतिकेजी १२० बाट १३५ रुपैयाँ, तोरीको तेल प्रतिलिटर ३७० बाट ४२० रुपैयाँ र जिरा मसिनो चामलको प्रतिबोरा मूल्य २ हजार ३०० बाट २ हजार ५०० रुपैयाँसम्म पुगेको छ ।

यता, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विपत्को मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने वा अनुचित मूल्य बढाउने व्यवसायीमाथि निगरानी बढाएको जनाएको छ । विभागका अनुसार ठूला गोदामदेखि खुद्रा पसलसम्म अनुगमन गरी नियमविपरीत काम गर्नेलाई कारबाही र जरिवाना गरिँदैछ ।

२०८३ भदौ २३ गते मंगलवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु