बाढीपीडितलाई राहत र कालोबजारी नियन्त्रण गर्न सरकारसँग रास्वपाको माग
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले बाढीपहिरो प्रभावित नागरिकलाई राहत दिन र चाडपर्वका बेला हुन सक्ने कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा उहाँले विपत्तिको समयमा नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पर्न नदिन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
भोटेकोशीको हिमपहिरोको प्रसङ्ग उठाउँदै परियारले उद्धार र राहतमा राज्यको उपस्थिति प्रशंसनीय भए पनि सङ्कट अझै नसकिएको र भूगोल विच्छेदित रहेको उल्लेख गर्नुभयो।
दसैँ, तिहार र छठ नजिकिँदै गर्दा कृत्रिम अभाव र कालोबजारीको जोखिम बढेको भन्दै उहाँले दुर्गम क्षेत्रसम्म आपूर्ति व्यवस्था चुस्त बनाउन र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्न माग गर्नुभयो।
बाढीपहिरोले भत्काएका सडक तथा पुल तत्काल मर्मत गरी विच्छेदित भूगोललाई राज्यको पहुँचमा जोड्नुपर्ने उहाँको भनाइ थियो।
२०८३ भदौ ३० गते मंगलवार १५:३५ बजे प्रकाशित






















