घरजग्गा कारोबार ४.७४ प्रतिशतले बढ्यो
काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा कारोबार ४.७४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो आवमा १.८४ प्रतिशतले घटेको कारोबार समीक्षा अवधिमा बढेको हो ।
समीक्षा अवधिमा सात खर्ब २० अर्ब ८६ करोड रुपियाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आवमा यस्तो कारोबार तीन खर्ब ८६ अर्ब १५ करोड रुपियाँको थियो । कारोबारबाट प्राप्त राजस्व ४८.२६ प्रतिशत र पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ ।
लिखतपारितअन्तर्गतको कारोबार सङ्ख्या १२.२८ प्रतिशतले बढेको छ भने कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशतले विस्तार भएको छ । घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जासमेत ६.९३ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ ।
प्रदेशगत रूपमा बागमतीमा कारोबार सङ्ख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ भने मधेशमा ३.४४ प्रतिशतले घटेको छ । महानगरपालिकामध्ये काठमाडौँमा कारोबार सङ्ख्या १५५.७४ प्रतिशतले बढेको छ ।
२०८३ भदौ ३१ गते बुधवार ०९:५८ बजे प्रकाशित























