विपद्पछि पुनर्निर्माणदेखि कालोबजारी नियन्त्रणसम्म सरकारसँग सांसदको माग
काठमाडौँ, असोज १३ गते । सांसदहरूले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रको अवस्था सुधार गर्न तत्काल योजना बनाएर काम गर्न माग गर्नुभयो । उहाँहरूले अवरुद्ध सडक सञ्चालन, जोखिमयुक्त बस्तीको मूल्याङ्कन तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् । विभिन्न जिल्लामा बाढीबाट क्षतिग्रस्त सडक तथा बस्तीको तत्काल पुनर्निर्माण गर्नसमेत उहाँहरूले माग गर्नुभयो ।
सांसदहरूले दुर्गम क्षेत्रका नागरिकले भोग्दै आएका सडक, स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत् र सञ्चारसम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सुदूरपश्चिम, मधेश तथा ललितपुरलगायतका क्षेत्रमा आधारभूत पूर्वाधार विस्तार गर्नसमेत माग गरिएको छ ।
यस्तै, चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी र मिसावट हुनसक्ने भन्दै प्रभावकारी अनुगमन गर्न सांसदहरूले सरकारलाई आग्रह गर्नुभयो ।
बैठकमा भोटेकोशी विपद्पछि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम कहाँ र कति खर्च भयो भन्ने विवरण सदनलाई जानकारी गराउन पनि माग गरिएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्रीको सम्बोधन तथा भ्रमणबारे सदनलाई जानकारी गराउनुपर्ने मागसमेत सांसदहरूले राख्नुभएको छ ।
यसैगरी, बाढी, पहिरो र डुबानबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण, अवरुद्ध सडक सञ्चालन तथा महँगी नियन्त्रणलाई प्रभावकारी बनाउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
२०८३ असोज १३ गते मंगलवार १३:०४ बजे प्रकाशित























