उपभोक्ता मँहगीको चरम मारमा परिरहँदा सरकारले तामाझामसाथ मनायो विश्व उपभोक्ता दिवस
काठमाडौं । सरकारले विश्व उपभोक्ता दिवस मनाएको छ । मंगलवार ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार उपभोक्ताको अधिकार’ को नारासहित उपभोक्ता दिवस मनाएको हो ।
छिल्लो समय युक्रेन र रुसबीचको युद्ध बजारभाउ बढाउन बहाना बनेको छ । तेलको कच्चा पदार्थको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ ।
इन्धनको मूल्य बढ्दा ढुवानी भाडा बढेको जनाउँदै व्यवसायीहरूले दैनिक उपभोग्यवस्तु दाल, चामल,तेल दुग्ध पदार्थ, आटामैदा, चिनी, मासुलगायत खाद्यवस्तुको समेत मूल्यवृद्धि गरेका छन् । खाने तेलको कच्चा पदार्थ आयात हुन नसकेको जनाउँदै खाने तेलको मूल्य छोइनसक्नु भएको छ । बजारभाउ नियन्त्रणमा चासो नदिएको सरकारले देखावटी रूपमा भने उपभोक्ता दिवस मनाएको छ ।
काठमाडौं महानगरपालिकाको सहकार्यमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रणमा राख्न अधिकतम पहल गरिरहेको दाबी गरे ।
गृहमन्त्री खाँणले उपभोक्ता अधिकार स्थापित गराउन सरकार गम्भीर रहेको उल्लेख गर्दै अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकारपछि नपर्ने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई पनि जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
“व्यवसायी पनि कुनै न कुनै रुपमा उपभोक्ता नै हुनुहुन्छ, सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित गर्न चाहँदैन, व्यवसायी पनि उपभोक्ताको हितप्रति संवेदनशील हुने विश्वास गरेको छु”, उहाँले भन्नुभयो । गृहमन्त्री खाँणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तामा मार परेकामा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारले उपभोग्य वस्तुको मूल्यलाई नियन्त्रणमा राख्न अधिकतम पहल गरिरहेको जानकारी दिनुभयो । “मूल्यवृद्धिको प्रमुख कारकका रुपमा पेट्रोलियम पदार्थको मूल्य रहेको छ, सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई पनि सकेसम्म नियन्त्रणमा नै राखेको छ”, उहाँले भन्नुभयो, “व्यापार घाटा न्यूनीकरण र आयात निरुत्साहित गर्नेमा सरकारको ध्यान गएको छ ।”
गृहमन्त्री खाँणले मुलुकको व्यापार घाटाको ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको बताउँदै विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
त्यस्तै कञ्जुमर आइ नेपालका अध्यक्ष विमला खनालले महँगीले गर्दा उपभोक्ताको दैनिकी कष्कटर बन्दै गएको छ।बजारमा मूल्य ,गुणस्तर र नापतौलमा उपभोक्ता दिनदिनै ठगिएको वताउनुभएको छ ।
अध्यक्ष खनालले बजार अनुगमन गरी जरिवाना गर्दैमा स्वच्छ बजार कायम हुन नसक्ने भन्दै उपभोक्तामाथि ठगी गर्ने व्यवसायीलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । बजार अनुगमनको जिम्मा स्थानीय सरकारको भएपनि अनुगमन प्रभावकारी नहुँदा दिनदिनै उपभोक्तामाथि चर्को ठगी भइरहेको छ भन्नुभयो । सबै थोकको मूल्य बढेर उपभोक्ताले धान्नै नसक्ने अवस्था भइसक्यो । तर नियामक निकायको उपस्थिति शून्यप्रायस् छ । कालोबजारी गर्नेले छुट पाएका छन् अध्यक्ष खनालले भन्नुभयो ।
काठमाडौंमा भएको मुलसमारोह समितिको कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री वालकृष्ण खाडज्युको प्रमुख आतिथ्यता तथा उद्योग बाणिज्य मन्त्रालयका सचिव,उपभोक्ता सम्बन्ध संसदीय समितिका सभापति, माननियज्युहरू, वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक,काठमाडौं महानगर पालिकाका उप प्रमुख, अधिकारकर्मीहरू लगायत विभिन्न संघ संस्था र कार्यालयका प्रतिनिधि हरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै मंगलवार विरगंज लगायत देसका विभिन्न ठाउँहरुमा उपभोक्ता दिवस मनाइएको छ ।
२०७८ चैत २ गते बुधवार १५:३६ बजे प्रकाशित























