"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा

चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।

आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव आउँदा एकातिर किसान मारमा परेका छन् भने अर्काेतर्फ उपभोक्ताले सुलभ मूल्यमा अण्डा उपभोग गर्न पाएका छैनन् । सुलभ मूल्यमा पाइने प्रोटिनको राम्रो स्रोत अण्डाका बारेमा जनचेतना जागृत गराउन नसक्दा उपभोग बढ्न सकेको छैन । अण्डा बजारका यावत समस्या समाधान गर्न ठूला व्यवसायीले समिति नै निर्माण गरेर काम सुरु गरेका हन् । उनीहरूले ३० हजारभन्दा बढी अण्डा उत्पादन गर्ने लेयर्स कुखुरापालक फार्म सङ्गठित भएर ‘नेपाल लेयर्स कुखुरापालक सङ्घ’ गठन गरेका हुन् ।

लेयर्स कुखुराका लागि आवश्यक पर्ने दानाको मूल्य अत्यधिक वृद्धि, बैंकको ब्याजदर वृद्धि र लागत मूल्य नपाउँदा अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । कतिपयको बैंकमा ब्याज तिर्न नसक्दा सम्पत्ति लिलामीको चरणमा समेत पुगेको छ । नवगठित सङ्घका अध्यक्ष विनोद पोखरेल अस्थिर बजारका कारण अधिकांश व्यवसायी पलायन हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । नवलपरासीमा चार लाख लेयर्स कुखुरा पाल्दै आउनुभएका दाउन्ने कर्पाेरेशनका कार्यकारी निर्देशकसमेत रहनुभएका उहाँले समयमै ध्यान दिन नसकेमा नेपाल पोल्ट्रीमा आत्मनिर्भरबाट परनिर्भर हुनुपर्ने अवस्था आउने बताउनुभयो ।

दैनिक दुई लाख ३१ हजार अण्डा उत्पादन र एक लाख ३० हजार सङ्कलन गरेर बजार पठाउँदै आएको जनाउँदै उहाँले अहिलेको लागत मूल्यमा अण्डा बिक्री गर्न नपाउँदा दैनिक नोक्सान व्यहोर्नुपरेको बताउनुभयो । सङ्घले छरिएर रहेका व्यवसायीलाई सङ्गठित गरेर मूल्यमा एकरुपता ल्याउने, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने, दानाको मूल्य घटाउन सरकारसँग पहल गर्ने र अण्डाको खपत बढाउने कुरामा लाग्ने उहाँको भनाइ छ ।

बैंकको चर्काे ब्याजदरलाई घटाउनका लागि पहल गर्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब हामीले समयमै पहलकदमी गरेनौँ भने हामी व्यवसायी विस्थापितमात्रै होइन, देश आत्मनिर्भरबाट हट्छ ।” एक प्रतिशत भन्सार मूल्य तिर्दै आएको भटमास पिनाको भन्सार मूल्य नौ प्रतिशत हुँदा लागत मूल्य बढेको उहाँको भनाइ छ ।

सङ्घका संरक्षक एवं नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट हाल अण्डाको ८० प्रतिशत उत्पादन गर्ने व्यवसायी सङ्घमा रहेको जनाउँदै लागत मूल्य घटाएर उत्पादन बढाइ बजारीकरण गर्न सङ्घ लाग्ने बताउनुभयो । महासङ्घसँग सहकार्य गरेर खपत बढाउने काममा लाग्नुपर्ने उहाँको भनाइ छ । व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले बजार धरासायी भएको जनाउँदै उहाँले सङ्गठित भएर व्यवसाय बचाउनुपर्नेमा जोड दिनुभयो ।

२०७९ कात्तिक १ गते मंगलवार १९:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु