प्रतिनिधिसभा निर्वाचन तयारी: शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद सुरु गर्ने तयारीमा जुटेकी छन्।
स्रोतका अनुसार दलका दोस्रो तहका नेता तथा नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ताका लागि पहल गरिरहेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले पुष्टि गरे।
तर, कुन–कुन दलका नेताहरूसँग भेटवार्ता हुनेछ भन्नेबारे भने औपचारिक रूपमा खुलाइएको छैन। “छलफल जारी छ। सबैलाई एकैसाथ भेट्ने कि अलग–अलग भेट्ने भन्ने विषय पनि अहिले परामर्शमै छ,” प्रधानमन्त्री कार्यालयका स्रोतले बतायो ।
उनका अनुसार दलका दोस्रो तहका नेता र निकट नागरिक समाजका व्यक्तिहरूसँग सूचना आदानप्रदान र प्रारम्भिक समन्वय भइरहेको छ।
प्रधानमन्त्री कार्कीले यही साताभित्रै शीर्ष नेताहरूसँगको छलफलका लागि निम्तो पठाउन सक्ने तयारी भइरहेको पनि स्रोतको दाबी छ।
“यही हप्ताभित्र निम्तो जाने सम्भावना छ। मिति भने अझै टुंगो लागिरहेको छैन,” स्रोतले भन्यो।
२०८२ मंसिर ८ गते सोमवार १७:१८ बजे प्रकाशित




















