प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ६१ दल दर्ता
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६१ दल निर्वाचन आयोगमा दर्ता भएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा दर्ता कायम रहेका १३२ दलमध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरीसकेका छन्। उनका अनुसार आयोगले अधिकतम दलको सहभागिता सुनिश्चित गर्न दर्ता प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।
भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजारले नयाँ मतदाता बन्न निवेदन दर्ता गरेको जानकारी दिए। प्राप्त निवेदनको रुजु प्रक्रिया पूरा भएपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूको मतदाता नामावली प्रकाशित गरिनेछ।
प्रकाशित नामावलीमा त्रुटि वा उजुरी भए मंसिर २१ देखि २७ गतेसम्म सच्याउन सकिनेछ। सच्याउने सबै प्रक्रिया सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने प्रवक्ता भट्टराईले बताए।
२०८२ मंसिर ८ गते सोमवार १७:२३ बजे प्रकाशित




















