काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘मिशन ०८४ होइन, पतन ०८४ आउँछ’ भन्ने चेतावनी आफूले पहिले नै दिएको दाबी गरेका छन्।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले ओलीले जेनजी आन्दोलनमा जलेका संरचनाको खरानी धसेर जनतालाई तर्साउने प्रयास गरिरहेको आरोप लगाए।
रावलले भने, “मैले त्यही बेलामा भनेको थिएँ—मिशन ०८४ होइन, पतन ०८४ आउँदैछ। आज ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ।”
उनले सुदूरपश्चिमका जनताले राष्ट्रिय स्वाधीनताको झण्डा बोकेर अब अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश प्राप्त गर्न पूर्ण रूपमा तयार रहेको बताए।
रावलका अनुसार पार्टीले विगतका गल्ती–त्रुटि दोहोरिन नदिई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता लिएको छ। साथै, उनले सुदूरपश्चिमबाटै पार्टी एक नम्बर दल बन्ने दाबीसमेत गरे।
रावलले भने, “नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो भन्ने सन्देश आजको सभाले दिएको छ। चुनावमा हामी सबै जाति, भाषा, धर्म, क्षेत्रका जनता एकताबद्ध भएर अघि बढ्छौं।”
२०८२ मंसिर १२ गते शुक्रवार १६:५७ बजे प्रकाशित




















