"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पहिलो किस्ता तिरेका उद्योगहरूलाई दोस्रो किस्ता बुझाउन विद्युत् प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जडान गराएका उद्योगीहरूलाई दोस्रो किस्ता बुझाउन औपचारिक पत्राचार सुरु गरेको छ। प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले मंगलबारदेखि सम्बन्धित उद्योगहरूलाई पत्र पठाई समयमा दोस्रो किस्ता तिर्न आग्रह गरेका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार बक्यौता विवाद समाधानतर्फ उन्मुख रहेकाले पहिलो किस्ता तिरेका उद्योगहरूले दोस्रो किस्ता पनि बुझाउने अपेक्षा गरिएको छ। उनले भने, “पहिलो किस्ता तिर्ने उद्योगहरूलाई दोस्रो किस्ता पनि समयमा बुझाउन ताकेता गरिएको हो।”

उद्योगीहरूले प्राप्त पत्रमा पहिलो किस्ताको भुक्तानीबापत धन्यवाद दिँदै दोस्रो किस्ता समयमै बुझाउन अनुरोध गरिएको उल्लेख छ। प्राधिकरणले उद्योगहरूलाई कूल बक्यौता २८ किस्तामा तिर्ने सुविधा प्रदान गरेको छ।

यसैक्रममा, हुलास स्टील र अशोक स्टीलले दोस्रो किस्ता बुझाइसकेका छन्।

अशोक स्टीलले दोस्रो किस्ता बापत ६३ लाख रुपैयाँ बुझाएको छ। कम्पनीले पहिलो किस्तामा पनि सोही रकम तिरेको थियो। अशोक स्टीलको कुल बक्यौता १७ करोड ५८ लाख १४ हजार ४०६ रुपैयाँ छ।

हुलास स्टील इन्डस्ट्रीज, सिमरा वितरण केन्द्र अन्तर्गत,ले ५० लाख ४३ हजार रुपैयाँ दोस्रो किस्ता बुझाएको छ। कम्पनीको कुल बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ छ।

गत कार्तिकमा बक्यौता नतिरेका कारण प्राधिकरणले २५ उद्योगहरूको लाइन काटेपछि उद्योगहरूले पहिलो किस्ता तिरेका थिए। उच्च सरकारी तहमा पहिलो किस्तालाई ‘धरौटी’ मानेर कानुनी पुनरावलोकनमा जाने सहमति भएको भए पनि प्राधिकरणले त्यसलाई नियमित किस्ताकै रूपमा अगाडि बढाएको छ। यसक्रममा प्रशासकीय पुनरावलोकन प्रक्रिया नब्युँताई नियमित किस्ता असुली चलिरहेको छ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलबापत ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो। अहिले सम्म २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ उठिसकेको छ भने ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै उठ्न बाँकी छ।

२०८२ मंसिर १३ गते शनिवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु