"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बजारमा ठगी र कालोबजारी रोक्न सरकारी टोली परिचालित

काठमाडौँ । दशैँ, तिहार र छठ पर्वका बेला बजारमा कृत्रिम अभाव हुन नदिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ ।

विभागले उपभोग्य वस्तुको मूल्य, गुणस्तर, मौज्दात र आपूर्तिको अवस्था नियमित अनुगमन गरिरहेको जनाएको छ । काठमाडौँ उपत्यकामा नियमित टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट थप ५० जना कर्मचारी परिचालन गरिएको विभागका महानिर्देशक रितेशकुमार शाक्यले बताउनुभयो ।

बजार अनुगमनमा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेशका सम्बन्धित निकाय सहभागी छन् । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ ।

चिनीको मौज्दातबारे साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग जानकारी लिइएको छ । मासुजन्य वस्तुको मूल्य बढेको गुनासो आएपछि पशु सेवा विभागसँग समन्वय गरी अनुगमन भइरहेको विभागले जनाएको छ ।

बजारमा ठगी, कृत्रिम अभाव वा अन्य समस्या देखिएमा विभागको हटलाइन, सूचना अधिकारी, सम्बन्धित निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’मार्फत उजुरी गर्न सकिने महानिर्देशक शाक्यले बताउनुभयो । उजुरीका आधारमा तत्काल अनुगमन टोली परिचालन गर्ने गरिएको विभागले जनाएको छ ।

२०८३ असोज २७ गते मंगलवार ११:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु