कांग्रेसका १७ भ्रातृसंस्थाको अपिल: सङ्कट मुक्त बनाउन एक ढिक्का भएर अघि बढ्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले पार्टी नेतृत्व र पदाधिकारीहरूलाई देश र जनतालाई सङ्कट मुक्त बनाउन एक ढिक्का भएर अघि बढ्न अपिल गरेका छन्।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना लगायतका नेताहरूले संयुक्त अपिल जारी गर्दै पार्टीभित्र एकता कायम गर्न आग्रह गरेका हुन्।
अपिलमा भनिएको छ, “नियमित महाधिवेशन वैशाख २८–३१ का लागि तोकिएको र फाल्गुन २१ मा आमनिर्वाचन सम्पन्न हुँदैछ। यस्तो अवस्थामा पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन।”
संयुक्त अपिलमा नेताहरूले देशमा आएको राजनीतिक सङ्कट र पार्टीभित्रको तिक्ततालाई समाधान गर्दै सभापति, कार्यवाहक सभापति र केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन्। साथै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित र जिम्मेवार तरिकाले सहमतिमार्फत अघि बढ्न अनुरोध गरिएको छ।

२०८२ पुस २५ गते शुक्रवार १७:०९ बजे प्रकाशित






















