रास्वपा सांसदलाई पनि विभिन्न मन्त्रालयमा खटाउने तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी भइरहेको हो, खटाइसकेको छैन। गृहकार्य गर्दैछौं।”
पार्टीका अनुसार, सांसदलाई मन्त्रालयमा खटाउनुको मुख्य उद्देश्य भविष्यमा सम्भावित मन्त्रीको रूपमा क्षमता अभिवृद्धि गर्नु हो। झाले थपे, “सांसद भनेको भविष्यको मन्त्रीसमेत हो। उसको लागि ट्रेनिङ पनि हुन्छ।”
कतिपय सांसदहरूले भने आफ्नो विशेषज्ञता भएको मन्त्रालयमा गएर मन्त्रीको कामलाई सहजीकरण र सहयोग गर्दै आएका छन्। पार्टीको भनाइ अनुसार, जनभावना अनुसार छिटो र छरितो काम गर्नका लागि सांसदले मन्त्रीलाई सहयोग गर्न यो अवधारण अघि सारिएको हो।
प्रवक्ता झाले बताए अनुसार, सांसदका साथै पार्टीको केन्द्रीय विभागका सदस्यहरूलाई पनि खटाउने तयारी छ।
२०८२ चैत १६ गते सोमवार १७:४७ बजे प्रकाशित























