नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी, अपेक्षाभन्दा बढीको नाम दर्ता
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्। शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा सुकुमबासीहरूले नागरिकता सहित आफ्नो विवरण टिपाउन थालेका हुन्।
तर, डोजर चलाइएका बस्तीका वास्तविक बासिन्दा मात्रै नभई अन्य व्यक्तिहरू पनि नाम दर्ता गराउन आएको तथ्य खुलेको छ। रंगशालामा खटिएका एक कर्मचारीका अनुसार काठमाडौंमा कोठा भाडामा बस्दै आएका तर आफ्नो नाममा घरजग्गा नभएको दाबी गर्ने केही व्यक्तिहरू पनि दर्ताका लागि पुगेका छन्।
“उहाँहरू सुकुमबासी हो वा होइन भन्ने अहिले नै छुट्याउन गाह्रो छ। त्यसैले नाम भने टिपिरहेका छौँ,” ती कर्मचारीले बताएका छन्।
उनका अनुसार अहिले दर्ता मात्रै भइरहेको र वास्तविक सुकुमबासीको पहिचान तथा परीक्षण पछि गरिने भएकाले प्रारम्भिक चरणमै ठोस निष्कर्षमा पुग्न नसकिएको हो। यही कारण अपेक्षाभन्दा धेरै व्यक्तिहरू रंगशालामा पुगेका छन्, जसले सुकुमबासी पहिचान प्रक्रिया थप जटिल बन्ने संकेत देखिएको छ।
२०८३ वैशाख १३ गते आइतवार २१:१२ बजे प्रकाशित























