प्रतिनिधिसभा सरकारको कठपुतली होइन: राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले संविधानको धारा ११४ ले अध्यादेश जारी गर्ने अवस्था स्पष्ट रूपमा परिभाषित गरे पनि सरकारले त्यसको मर्म नबुझी लगातार अध्यादेश ल्याइरहेको आरोप लगाइन्।
उनका अनुसार सरकारले प्रतिनिधिसभालाई बेवास्ता गर्दै त्यसको भूमिकालाई कमजोर बनाउने प्रयास गरेको देखिन्छ। उनले भनिन्, “प्रतिनिधिसभालाई सरकारले वेवास्ता गरेको हो कि भन्ने देखिन्छ। अझ भनौं प्रतिनिधिसभालाई छायामा पारेको हो कि भन्ने भान हुन्छ। प्रतिनिधिसभा सरकारको कठपुतली होइन।”
ओलीले संसद् सरकारको नियन्त्रणमा चल्ने संस्था नभएको भन्दै यसको स्वायत्तता जोगाउनुपर्नेमा जोड दिइन्।
उनले विगतमा अहिले सत्तामा रहेका कतिपय पक्षले नै संसद्मा यस्तै विषय उठाउने गरेको स्मरण गराउँदै अहिले उनीहरू सरकारमै रहँदा व्यवहार उल्टिएको टिप्पणी पनि गरिन्।
राप्रपाले सरकारले अध्यादेशमार्फत विधायिकालाई कमजोर बनाउने प्रवृत्ति बढाएको भन्दै यसमा पुनर्विचार गर्न आग्रह गरेको छ।
२०८३ वैशाख २८ गते सोमवार १७:५२ बजे प्रकाशित























