प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।
सभामुख डोल प्रसाद अर्यालले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिले उक्त निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदमुक्त गरिएको उल्लेख छ।
२०८३ वैशाख २९ गते मंगलवार १७:२६ बजे प्रकाशित






















