प्रधानमन्त्रीको सुनको छानबिन गर्न माग, आफ्नै नामबाट सुरु गर्न आङदेम्बेको प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्तिबारे उठेका प्रश्नमा निष्पक्ष छानबिन आवश्यक रहेको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारको इच्छाशक्तिको स्वागत गर्दै जुनसुकै दल वा पदमा रहेकालाई कानुनको दायरामा ल्याउनुपर्ने धारणा राखे।
आङदेम्बेले पछिल्लो समय प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक भएको उल्लेख गर्दै त्यसमा देखिएका तथ्यबारे जनताले प्रश्न उठाइरहेको बताए। विशेषगरी प्रधानमन्त्रीको नाममा ठूलो मात्रामा सुन देखिएको भन्ने विषयबारे उनले सार्वजनिक चासो रहेको उल्लेख गरे।
उनका अनुसार सम्पत्ति कसरी आर्जन भयो भन्ने विषयमा पारदर्शिता आवश्यक छ र जनताले त्यसको स्रोत जान्न पाउनुपर्छ। तर उनले नेपाली कांग्रेसले व्यक्तिगत रूपमा सम्पत्ति आर्जनको विषयलाई आरोपको रूपमा नउठाउने स्पष्ट पारे।
उनले सम्पत्ति छानबिन प्रक्रिया निष्पक्ष हुनुपर्नेमा जोड दिँदै छानबिनको सुरुवात आफूबाटै गर्न तयार रहेको बताए। “मेरो नाम भीष्मराज आङदेम्बे हो, मबाट सुरु गरौं, प्रधानमन्त्रीबाट सुरु गरौं,” भन्दै उनले पारदर्शिताको पक्षमा आफू तयार रहेको धारणा राखे।
आफ्नो पाँचथरमा रहेको सम्पत्तिको पनि छानबिन गर्नुपर्ने उनले बताए। साथै, प्रधानमन्त्री बालेन शाहको सम्पत्तिबारे पनि समान रूपमा छानबिन हुनुपर्ने उनको भनाइ थियो।
आङदेम्बेले चयनात्मक रूपमा नभई सबै सार्वजनिक पदाधिकारीमाथि समान ढंगले छानबिन हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार नियन्त्रणका लागि कानुनी आधार आवश्यक रहेको उल्लेख गर्दै उनले कानुनको दायराभन्दा बाहिर गएर छानबिन गर्न नहुने चेतावनी पनि दिए।
उनले अन्त्यमा प्रधानमन्त्री स्वयं निष्पक्ष छानबिनका लागि तयार हुनुपर्ने भन्दै जनताका उठेका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताए।
२०८३ असार २२ गते सोमवार १७:४९ बजे प्रकाशित






















