सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति श्रम संस्कृति पार्टीको असहमति छ
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।
प्रतिनिधिसभाको बुधबारको विशेष समयमा बोल्दै पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता खर्चिलो भएको भन्दै प्रदेश सभा खारेज गर्नुपर्ने बहसप्रति असहमति जनाए।
उनले विगतको केन्द्रीकृत शासन प्रणालीका कारण देश विकासमा पछि परेको उल्लेख गर्दै सन्तुलित विकास र प्रशासनिक पहुँचका लागि प्रदेश संरचना आवश्यक रहेको बताए।
राईले सङ्घीयताले बहुभाषिक, बहुसांस्कृतिक तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। खर्च बढेको भन्दै नागरिकको अधिकार कटौती गर्नुको सट्टा व्यवस्थापकीय सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।
२०८३ असार ३१ गते बुधवार १७:३१ बजे प्रकाशित






















