"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन सुधार गर्न संघ र स्थानीय तहबीच समन्वय आवश्यक

काठमाडौँ । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गर्नुभएको छ ।

सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्रका लागि संघीय सरकार र काठमाडौँ महानगरपालिकाले आवश्यक बजेट विनियोजन गरी काम अघि बढाउनुपर्ने बताउनुभयो ।

बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासीले ल्याण्डफिल साइटसम्म पुग्ने सडक जीर्ण रहेको, फोहोरका कारण दुर्गन्ध फैलिएको, फोहोर बोकेका सवारीसाधन नछोपी सञ्चालन हुने गरेको तथा बाटोमै फोहोर खसाल्ने गरिएको गुनासो गर्दै आएका छन् । फोहोर विसर्जनपछि सवारीसाधन नधोई उपत्यका फर्काउने र पर्याप्त मात्रामा माटोले नछोप्ने (क्यापिङ) गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन् ।

आफू निर्वाचित क्षेत्रबाट बञ्चरेडाँडा फोहोर व्यवस्थापनसम्बन्धी धेरै गुनासा आएपछि महानगरपालिकाका कार्यवाहक प्रमुखसँग छलफल गरिएको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।

“कतिपय क्षेत्रमा सडक कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको गुनासो धेरै आएको छ । फोहोर व्यवस्थापन स्थलसम्म पुग्ने बाटो वरपरका स्थानीय पीडित भएको बताएका छन् । त्यहाँ दुर्गन्ध फैलिएको छ र विभिन्न रोगको संक्रमण बढेको गुनासो पनि आएको छ,” उहाँले भन्नुभयो ।

मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडाका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । फोहोर विसर्जनपछि समयमा माटोले नछोप्दा दुर्गन्ध फैलिने भएकाले क्यापिङको कामलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

छलफलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका अन्य स्थानीय तहबाट समेत फोहोर जाने भए पनि फोहोर व्यवस्थापनको अधिकांश आर्थिक दायित्व काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको बताउनुभयो ।

“फोहोर व्यवस्थापनका लागि लाग्ने खर्च सबै पालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएका थिए । तर, अहिलेसम्मको अधिकांश खर्च काठमाडौँ महानगरपालिकाले मात्रै व्यहोर्दै आएको छ,” उहाँले भन्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले फोहोर संकलनस्थल तथा कुहिने र नकुहिने फोहोर छुट्याउने केन्द्रका लागि आवश्यक जग्गा प्राप्त गर्न नसकिएको पनि जानकारी दिनुभयो ।

महानगरपालिकाले विकेन्द्रित फोहोरमैला व्यवस्थापनको अवधारणाअनुसार महानगरलाई सातवटा फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने योजना अघि सारेको छ । तर, आवश्यक जग्गा प्राप्ति तथा अन्य प्रक्रिया पूरा हुन नसक्दा योजना कार्यान्वयनमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

ल्याण्डफिल साइटको दीर्घकालीन व्यवस्थापनका लागि फोहोर संकलन केन्द्रको संख्या बढाउने, फोहोर वर्गीकरण तथा ग्रेडिङ प्रणाली विस्तार गर्ने र यसका लागि संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य बढाउने विषयमा समेत छलफल भएको छ ।

महानगरपालिकाका अनुसार हाल बञ्चरेडाँडा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने रहेको छ । स्रोतमै फोहोर छुट्याउने अभ्यास प्रभावकारी हुन नसक्दा फोहोर वर्गीकरणमा समस्या देखिएको र त्यसले ल्याण्डफिल साइटमा थप चुनौती सिर्जना गरेको महानगरपालिकाको भनाइ छ ।

दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बञ्चरेडाँडा पुग्ने गरेका छन् । वर्षायाममा सडकको अवस्था खराब हुँदा सवारीसाधन बाटोमै अड्किने, त्यसबाट दुर्गन्ध फैलिने तथा स्थानीय जनजीवन प्रभावित हुने समस्या रहेको बताइएको छ ।

यसअघि पनि मन्त्री तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनस्थलमा देखिएका चुनौती तथा स्थानीयवासीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्दै आउनुभएको छ । उहाँले फोहोर व्यवस्थापनको प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापनका लागि सबै सम्बन्धित निकाय जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

नेपाल सरकारले एक हजार ७९२ रोपनी जग्गा अधिग्रहण गरी निर्माण गरेको बञ्चरेडाँडा ल्याण्डफिल साइटमा २०७९ जेठ १० गतेदेखि फोहोर विसर्जन सुरु गरिएको हो । यो ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ ।

२०८३ भदौ ४ गते बिहीवार २०:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु