दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौँ, असोज २० गते । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।
यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीको बैठकले अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमनका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार यात्रुको चापलाई ध्यानमा राख्दै सवारीसाधन व्यवस्थापन तथा यात्रु सेवाका लागि सम्बन्धित निकाय, यातायात व्यवसायी र सुरक्षा निकायसँग समन्वय भइरहेको छ ।
विभागले टिकट पाउन समस्या नहोस् र यात्रुले सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले यातायात व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ ।
२०८३ असोज २० गते मंगलवार १४:३१ बजे प्रकाशित























