तातोपानी नाका सञ्चालनका लागि चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले नेपाली पक्ष नाका सञ्चालनका लागि तयार रहे पनि चिनियाँ पक्षबाट अनुमति प्राप्त हुन बाँकी रहेको जानकारी दिनुभयो ।
विपद्का कारण प्रभावित सडक तथा पूर्वाधार पुनर्स्थापनाको काम सरकारले अघि बढाइरहेको बताउँदै मन्त्री लम्सालले रसुवागढी नाका पुनः सञ्चालनका लागि पनि योजना बनाइरहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्न गुरुयोजना तयार गर्ने काम अघि बढाइनेछ ।
२०८३ असोज २० गते मंगलवार १४:२६ बजे प्रकाशित























