युवासँग रोजगारीका सम्भावना र श्रमिकका समस्या बुझ्दै मन्त्री यादव
इनरुवा । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुनसरीका विभिन्न स्थानीय तह तथा बजार क्षेत्रमा पुगेर युवा र श्रमिकसँग रोजगारीका विषयमा छलफल गर्नुभएको छ।
स्थानीयस्तरमा रोजगारीका अवसर बढाउने, युवालाई स्वदेशमै रोजगारीप्रति आकर्षित गर्ने र श्रमिकका समस्या बुझ्ने उद्देश्यले मन्त्री यादवले प्रत्यक्ष भेटघाट गर्नुभएको हो।
इटहरीमा असोज १४ देखि २० गतेसम्म आयोजित सीप तथा रोजगार मेला सम्पन्न भए पनि स्थानीयस्तरमा सीप विकास र रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो। सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्मलाई ‘रोजगार प्रवद्र्धन दशक’का रूपमा अघि बढाएको उहाँको भनाइ छ।
मन्त्री यादवले कोशी गाउँपालिकाको हरिपुर तथा लौकही, बराहक्षेत्रको मधुवन, इनरुवाका विभिन्न क्षेत्र र रामधुनी–१ को मोहनपुर पुगेर स्थानीय युवा तथा श्रमिकसँग छलफल गर्नुभएको हो। छलफलमा स्थानीय रोजगारीको सम्भावना, युवाको सीप र श्रमिकका समस्याबारे जानकारी लिँदै स्थानीय आवश्यकता र बजारको मागअनुसार युवालाई सीप र रोजगारीसँग जोड्ने प्रतिबद्धता जनाउनुभएको थियो।
२०८३ असोज २० गते मंगलवार १४:२० बजे प्रकाशित























