पोखरा विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ ।
दुबईबाट आएको जहाज साँझ सवा ६ बजे पोखरा अवतरण गर्ने र पोखराबाट सवा ७ बजे दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो ।
उडान सुरु भएसँगै पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन् । होटल सङ्घ पोखराले पहिलो तीन महिनासम्म फ्लाई दुबईबाट आउने यात्रुलाई २५ प्रतिशत छुट दिने जनाएको छ भने रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिइनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्दै पर्यटन र व्यापारमा सहयोग पुग्ने बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेको हो ।
२०८३ असोज ७ गते बुधवार ११:२२ बजे प्रकाशित























