"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

म्याद गुज्रिएका चकलेट र बिस्कुटबाट गुदपाक बनाउने उद्योग सिल

काठमाडौँ। काठमाडौँको चन्द्रागिरिमा म्याद गुज्रिएका चकलेट, बिस्कुट, चिउरा, किरा परेका चना र बदामलगायत अखाद्य वस्तु प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने उद्योग फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा उक्त उद्योग सिलबन्दी गरी उत्पादनमा रोक लगाएको हो ।

चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारमा अनुगमन गर्दा म्याद नाघेका खाद्यवस्तुलाई धुलो बनाएर गुदपाक र पुष्टकारीमा मिसाउने गरेको पाइएको विभागले जनाएको छ । ती वस्तुमा नयाँ लेबल लगाएर पुनः प्याकेजिङ गरी बजारमा पठाउने तयारीसमेत भइरहेको थियो ।

विभागका अनुसार उद्योगका उत्पादनमा खुवा, दूध, काजु, बदामलगायत पौष्टिक सामग्री प्रयोग गरिएको दाबी गरिए पनि अनुगमनका क्रममा त्यस्ता सामग्री पर्याप्त मात्रामा भेटिएनन् । बरु किरा परेको चना, बदाम, चनाको पिठो, चिउरा, चकलेट, बिस्कुट, स्किम मिल्क पाउडर र ओट्सलगायत सामग्री फेला परेका थिए ।

विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले प्रयोगशालाको रिपोर्ट आएपछि उद्योग सञ्चालकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिने बताउनुभएको छ । उहाँले उपभोक्ताको स्वास्थ्यमा जोखिम पार्ने गरी अखाद्य वस्तु प्रयोग गर्ने व्यवसायीमाथि कडा कारबाही हुने स्पष्ट पार्नुभयो ।

विभागले पछिल्लो एक सातामा उपत्यकाका विभिन्न डेरी, खाद्य तथा मिठाई उद्योगमा गरेको अनुगमनका क्रममा म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तु बिक्री तथा प्रयोग भइरहेको समेत फेला पारेको जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार यस्तो कसुरमा कैद र जरिबानाको व्यवस्था छ ।

२०८३ असोज १९ गते सोमवार ०९:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु