ढुवानी साधन नहुँदा चुमनुब्रीको बगैँचामा लटरम्म फलेका स्याउ किसानका लागि चिन्ताको विषय
गोरखा, असोज १९ गते । उत्तरी गोरखाको चुमनुब्रीमा स्याउ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्याउन समस्या भएको छ। सडक र भरपर्दो ढुवानी साधन नहुँदा बगैँचामा लटरम्म फलेका स्याउ किसानका लागि चिन्ताको विषय बनेका छन्।
चुमनुब्री–४ नामरुङस्थित इन गोरखा प्रोडक्टको बगैँचामा यस वर्ष करिब एक लाख किलो स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यहाँ गाला, गोल्डेन डेलिसियस र फुजी जातका १२ हजार ५०० बोट छन्।
फर्म सञ्चालक लाक्पा डुण्डुप लामाका अनुसार मोटरबाटो नहुँदा स्याउ ढुवानीमा समस्या छ। बर्खाले काठेपुलसमेत बगाएकाले खच्चडबाट ढुवानी गर्न पनि कठिनाइ भएको छ। खच्चडबाट लैजाँदा २० देखि २५ प्रतिशतसम्म स्याउ नोक्सान हुने गरेको उहाँले बताउनुभयो।
चुमनुब्री–२ ल्होस्थित विशाल मनास्लु फर्ममा पनि स्याउ टिप्न सुरु भएको छ। पाँच हजार बोटबाट यस वर्ष ६ देखि ७ हजार किलोसम्म स्याउ उत्पादन हुने अनुमान छ।
स्थानीय उत्पादन बढ्दै गए पनि सडक तथा ढुवानी पूर्वाधारको अभावमा चुमनुब्रीका स्याउ बजारसम्म पुग्न सकेका छैनन्। किसानले उत्पादनसँगै ढुवानी पूर्वाधारमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
२०८३ असोज १९ गते सोमवार ११:०३ बजे प्रकाशित























