बुढीगण्डकी बाढीले सयभन्दा बढी घरगोठमा क्षति, १० जना सम्पर्कविहीन
गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले उत्तरी गोरखाका सयभन्दा बढी घरगोठमा क्षति पुर्याएको छ । बाढीका कारण चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका छन् भने १० जना सम्पर्कविहीन भएका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा पहिरो खसेर खोला थुनिएपछि एक्कासि बाढी आएको हो । भू–उपग्रहबाट प्राप्त तस्बिरअनुसार शनिबार साँझ नै पहिरो गएको अनुमान गरिएको छ ।
बाढीले चुमनुब्रीको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रका साथै धार्चेको दोभान, माछीखोला, यारुबगर तथा आरुघाटको सोती र बजार क्षेत्रमा क्षति पुर्याएको छ ।
बाढीमा परी उङ्गिलुङ भेडीगोठमा बस्ने चुमनुब्री–६ चुन्चेतका पाँच जना र सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना गरी १० जना सम्पर्कविहीन भएका छन् ।
बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ । आरुघाट–त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल, सोती–मान्बु जोड्ने पक्की पुल, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज तथा विभिन्न झोलुङ्गे पुल बगाउँदा गाउँबस्तीको आवागमन प्रभावित भएको छ ।
त्यस्तै, चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बाढीले बगाएको छ । उत्तरी गोरखाका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न गाउँबस्तीमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
बाढीमा फसेका स्थानीय र पर्यटकको उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । न्याकफेदीमा फसेका नौ जनालाई उद्धार गरी न्याक गाउँ लगिएको छ भने यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनालाई हुल्चुक गाउँमा सुरक्षित स्थानान्तरण गरिएको छ ।
यसैगरी, मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाको पनि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बाढीबाट भएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेको छ ।
२०८३ असोज २५ गते आइतवार १९:३३ बजे प्रकाशित























