काठमाडौँमा वायु प्रदूषण नियन्त्रण गर्न २७ रणनीतिक क्षेत्रसहित कार्ययोजना
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा वायु गुणस्तर कायम गर्न २७ रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने भएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि हरियाली विस्तार तथा नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदा तयार गरेको विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
कार्ययोजनामा सडकको धुलो, सवारीसाधनको धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ । प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिलाई प्रोत्साहन गर्ने योजना पनि छ ।
नीतिगत, कानुनी, संस्थागत तथा आर्थिक व्यवस्था सुदृढ गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड पुनरवलोकन गर्ने र विद्यालय तथा अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।
कार्यक्रम कार्यान्वयनका लागि महानगरका ३२ वटै वडा तथा यातायात, सडक सुरक्षा, सार्वजनिक निर्माण, उद्यान तथा हरियाली, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिसम्बन्धी विभागलाई जिम्मेवारी तोकिएको छ ।
२०८३ मंसिर ६ गते आइतवार १८:४० बजे प्रकाशित























