बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा २१ हजार डोज खोप पठाइयो
काठमाडौं। बाढीका कारण हैजाको जोखिम बढेपछि रसुवामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको निर्देशनअनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।
बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।
२०८३ भदौ २१ गते आइतवार १२:३९ बजे प्रकाशित






















