मधेश प्रदेशलाई सुख्खाग्रस्तबाट बचाउन तत्काल डिप बोरिङ जडान गरिने : प्रधानमन्त्री
महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताएको छन् ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिक-६ मा प्रसूति गृहको उद्घाटनपश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएको हो । उनले यस क्षेत्रमा खानेपानी, सिँचाइको अभाव रहेको हामीले प्रत्यक्ष रुपमा महसुस गर्न पाएको उल्लेख गर्दै अहिले मधेश प्रदेशमा दु:खको समय रहेको बताए।
सर्लाहीबाट नै जमिनको नजिकैबाट हेलिकप्टर उडाएर प्रत्यक्ष रुपमा सुख्खाको अवस्था अवलोकन गरेको बताउनुहुँदै प्रधानमन्त्री शर्माले भने, “हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ ।” खानेपानी, सिँचाइको समस्या, अनावृष्टिको कारणले समस्याले प्रत्यक्ष देखेको प्रधानमन्त्री ओलीले बताए ।
खानेपानी अभाव, सिँचाइ अभाव तथा सुख्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउँदै उनले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिए। अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउँदै एउटाबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताए।
यसबाट तत्कालको लागि केहीहदसम्म सिँचाइको समस्या कम हुने ठम्याइ प्रधानमन्त्री ओलीको थियो । उनले मधेशको पूर्वको सप्तरीमा कोशी नदीको कारणले सुख्खाको केही कम समस्या देखिए पनि बाँकी सात जिल्लाको अवस्था बढी समस्याग्रस्त रहेको बताए ।
दीर्घकालीन रुपमा सुख्खाग्रस्तबाट मधेशलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरु बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल नजाने कुराका लागि अनुकूल वातावरणतर्फ फर्काउने काम हामीले गर्ने उनले आश्वासन दिए । उनले मधेशलाई सुख्खाग्रस्तबाट बचाउन सरकारका सबै अंग र निकायका साथसाथै गैरसरकारी सङ्घसस्थालाई समेत साथ र सहयोगको लागि आग्रह गरे।
कार्यक्रममा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले संविधान संशोधन गर्न तथा मधेश र थरुहट क्षेत्रका नेतामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरे।
कार्यक्रममा सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाले मन्तव्य राखेको थिए। प्रसूतिगृहको उद्घाटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली मटिहानीस्थित देशकै पहिलो विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेको थिए ।
२०८२ साउन ९ गते शुक्रवार १७:१४ बजे प्रकाशित






















