वीरगन्जमा समुदायस्तरमै फैलियो हैजा, ५४ जनामा सङ्क्रमण पुष्टि
वीरगन्ज । वीरगन्ज मा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ वीरगन्जको तराई अस्पतालमा झाडापखाला लागेर उपचाररत तीन जना बिरामीमा हैजा देखिएको हाे ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा ५४ जना झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरूमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरू अस्पतालमा नै रहनु भएको र केही परीक्षणको रिपोर्ट नआएकाले एकिन सङ्क्रमितको सङ्ख्या साँझमा निश्चित हुने उहाँले बताउनुभयो ।
वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा करिब एक सय पचास जना झाडापखाला तथा हैजा पुष्टि भएका बिरामीको उपचार चलिरहेको छ । सबैभन्दा बढी बिरामीको घुइँचो भने नारायणी अस्पतालमा छ ।
२०८२ भदौ ८ गते आइतवार १७:१२ बजे प्रकाशित























