पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा फेरि २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा चर्चित काण्डहरू तथा २०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग दोहोर्याएका छन् ।
मंगलबार जारी शुभकामना सन्देशमा उनले भने, ‘‘प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका महत्त्वपूर्ण कदम चालिनुपर्छ । हालसम्मका सबै चर्चामा रहेका काण्ड तथा २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग मैले संसद्को रोष्टमबाटै गरेको थिएँ र आज यो दिवसका अवसरमा त्यही मागलाई फेरि सशक्त रूपमा दोहोर्याउँछु ।’’
प्रधानमन्त्रीकालको स्मरण गर्दै उनले भनेका छन्, ‘‘म प्रधानमन्त्री भएको कार्यकालमा हामीले सुशासनलाई राज्य सञ्चालनको मूल मन्त्र बनायौं । सुशासनकै पक्षमा दृढतापूर्वक कदम चालेकै कारण दलाल, बिचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुग्यो र हाम्रो पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको विदितै छ । तर पनि त्यो अवधिमा सुशासनका कैयौं मानकहरू स्थापित भए । बिना कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह, भुटानी शरणार्थी प्रकरणलगायत ठूला भ्रष्टाचार काण्डहरूको छानबिन अघि बढाइयो ।’’
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान नभएको उल्लेख गर्दै संयोजक प्रचण्डले यो निरन्तरको सङ्घर्ष भएको बताए । यो दिवसले सबैलाई सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति थप जिम्मेवार बनाउन तथा भ्रष्टाचारमुक्त, समृद्ध र समाजवादी नेपाल निर्माणको सङ्कल्पलाई सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास उनको छ ।
२०८२ मंसिर २३ गते मंगलवार १७:२९ बजे प्रकाशित























