"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत, ४० दिनका लागि १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना हुने

काठमाडौँ । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि परिचालन गरिने निर्वाचन प्रहरीको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको छ। गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरिएको जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निर्वाचन प्रहरीका लागि माग गरेको बजेटमा अर्थ मन्त्रालयले सहमति जनाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले मापदण्ड स्वीकृत गरेका हुन्। स्वीकृत मापदण्डअनुसार ४० दिनका लागि निर्वाचन प्रहरी भर्ना गरिनेछ।

अर्थ मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ। सो बजेटअनुसार करिब १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिने प्रहरी प्रधान कार्यालयका एक अधिकृतले जानकारी दिए। निर्वाचन प्रहरी भर्नाका लागि छिट्टै दरखास्त आह्वान गरिने गृह प्रवक्ता काफ्लेले बताए।

निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीले ४० दिनसम्म सेवा गर्नेछन्। उनीहरूले प्रहरी जवान सरह तलब र रासन सुविधा पाउनेछन् भने यसपटक छुट्टै भत्ता भने दिइने छैन।

सशस्त्र प्रहरी बललाई १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्न आवश्यक बजेटको स्रोत पनि अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ। सशस्त्र प्रहरीले पहिलो पटक निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो। सशस्त्र प्रहरीतर्फ भर्ना हुने निर्वाचन प्रहरीले पनि ४० दिन काम गर्नेछन् र सशस्त्र प्रहरीका जवान सरह तलब तथा रासन सुविधा पाउनेछन्।

नेपाल प्रहरीले १ लाख ३६ हजार ८११ जना निर्वाचन प्रहरी भर्ना गर्न अनुमति मागेको थियो। तर अर्थ मन्त्रालयले करिब ३ हजार संख्या घटाएर बजेट स्वीकृत गरेको हो। केन्द्रीय सुरक्षा समितिले गत ३० कात्तिकमा निर्वाचनका लागि १ लाख ३० हजार निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो। सुरक्षाका चुनौतीलाई ध्यानमा राख्दै थप संख्या आवश्यक रहेको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पेस गरेको थियो।

२०८२ पुस २३ गते बुधवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु