यस वर्षको मतगणनामा दलका प्रतिनिधिले हेर्न पाउँछन्, छुन पाउँदैनन्: निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयोगलाई सुधारका कदम चाल्न प्रेरित गरेको छ।
२०७४ सालको स्थानीय तह निर्वाचनका क्रममा भरतपुर महानगरपालिकामा मतगणनाका बेला मतपत्र च्यातिएको घटनाबाट पाठ सिक्दै आयोगले त्यसयता निर्वाचन प्रणाली र अभ्यासमा चरणबद्ध सुधार गर्दै आएको जनाएको छ। कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार विगतका सबै घटनाबाट सिकेर व्यवस्थापन, सुरक्षा र पारदर्शितामा सुधार गरिएको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदानस्थलसँगै गणनास्थलको पनि विशेष व्यवस्थापन गरिएको छ। गणनास्थललाई तारजालीले घेरेर सुरक्षित क्षेत्र बनाइएको छ भने मतगणना गर्ने स्थान र उम्मेदवारका प्रतिनिधि बस्ने स्थान छुट्टाछुट्टै व्यवस्था गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिहरूले मतगणना प्रक्रियालाई प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्, तर मतगणना भइरहेको टेबलको छेउमा पुग्न भने पाउने छैनन्। मतगणनास्थलमा दलका प्रतिनिधि बस्ने स्थान छुट्याएर त्यसअगाडि तारजालीसहितको फलामे बार राखिएको छ, जसबाट गणनाको प्रक्रिया स्पष्ट देख्न सकिने तर हस्तक्षेप गर्न नसकिने व्यवस्था मिलाइएको छ।
आयोगका अनुसार यस्तो संरचनाले पारदर्शिता कायम राख्दै सम्भावित विवाद र अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
२०८२ फागुन २० गते बुधवार १९:०४ बजे प्रकाशित























