२४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढाइनेछ।
“पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ,” भण्डारीले भने, “अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं।”
उनले विश्वका प्रजातान्त्रिक मुलुकहरूमा निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने प्रक्रिया सामान्य अभ्यास भएको उल्लेख गरे। यसले निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
२०८२ फागुन २० गते बुधवार १९:०५ बजे प्रकाशित























