"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तीन पूर्वप्रधानमन्त्रीमाथि पनि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबारे अनुसन्धान सुरु गरिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई पक्राउ गरिएको छ। सीआईबीका एआईजी डा। मनोज केसीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

तीन पूर्वप्रधानमन्त्रीको हकमा भने सीआईबीले औपचारिक रूपमा केही नबोले पनि गृह स्रोतका अनुसार विभागको निर्देशनपछि उनीहरूको सम्पत्तिबारे पनि अनुसन्धान अघि बढाइएको छ।

यसअघि जेनजी आन्दोलनका क्रममा शेरबहादुर देउवाको निवासमा नगद भेटिएको विषय सार्वजनिक भएको थियो। त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का उठाएको थियो। त्यस्तै, प्रचण्डकी छोरी गंगाको निवास र ओली निवासमा पनि घटनास्थल मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान गरिएको थियो।

हाल सोही अनुसन्धानलाई थप तीव्र बनाइएको बताइएको छ। विभागको पत्राचारपछि अहिले उक्त विषयको अनुसन्धान सीआईबीले सम्हालेको छ।

२०८२ चैत १५ गते आइतवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु