अतिक्रमित जग्गा खाली गराउन ७७ वटै जिल्लाहरूलाई गृहको सर्कुलर
काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसका लागि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई सर्कुलर जारी गरेको छ।
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायसँग समन्वय गरी जिल्लाभित्र रहेका अतिक्रमित जग्गाको पहिचान गर्न निर्देशन दिएको छ। साथै, ती जग्गामा रहेका संरचना हटाउने योजना तयार गरी मन्त्रालयमा पेश गर्न पनि भनिएको छ। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जिल्ला प्रशासन कार्यालयहरूमा यस सम्बन्धी परिपत्र गरिएको जानकारी दिएका छन्।
यसअघि चैत २० गते नै मन्त्रालयले प्रारम्भिक परिपत्र जारी गरेको थियो। पछिल्लो समय सचिवस्तरीय निर्णयमार्फत अतिक्रमण हटाउने कार्यलाई प्रभावकारी बनाउन सुरक्षा प्रबन्धसहित आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
सरकारले अतिक्रमण हटाउने कार्यलाई थप तीव्रता दिँदै आएको छ। यही क्रमअन्तर्गत काठमाडौंका नदी किनारमा बनेका अतिक्रमित संरचना हटाउने कार्य शुक्रबारदेखि सुरु गरिने भएको छ। त्यसअघि बिहीबार प्रभावित क्षेत्रमा माइकिङ गरी सूचना दिइँदैछ।
२०८३ वैशाख १७ गते बिहीवार १७:५६ बजे प्रकाशित






















