सरकारी अस्पतालमा ९ करोडभन्दा बढीको औषधि म्याद नाघेको
काठमाडौं । सरकारी अस्पताल तथा स्वास्थ्य निकायहरूमा ठूलो परिमाणमा औषधि र स्वास्थ्य सामग्री म्याद नाघेर प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको पाइएको छ।
महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थामा ९ करोड १७ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री र कीट म्याद समाप्त भएर उपयोगविहीन बनेका हुन्।
प्रतिवेदनले स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही भएको उल्लेख गरेको छ।
महालेखाका अनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका औषधिको म्याद सकिएको छ।
त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र मा ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधि म्याद नाघेका छन् भने वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ करोड १९ लाख ९६ हजार रुपैयाँ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा १ करोड २३ हजार रुपैयाँ बराबरका सामग्री म्याद सकिएर थुप्रिएको महालेखाले जनाएको छ।
सम्झौताअनुसार म्याद समाप्त भएका, टुटफुट भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताले प्रतिस्थापन गर्नुपर्ने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नभएको महालेखाले औंल्याएको छ।
प्रतिवेदनमा भनिएको छ, “स्वास्थ्य संस्थाले खरिद गरेका औषधिको म्याद समाप्त भएमा, टुटफुट भएमा वा अधिक मौज्दात रहेमा सम्झौताअनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्छ।
२०८३ जेठ १ गते शुक्रवार १८:१२ बजे प्रकाशित






















