ग्रीन हाइड्रोजन प्रविधिबाट स्वदेशमै मल उत्पादन गर्न सांसद खनालको आग्रह
काठमाडौं । रास्वपा सांसद केपी खनालले विद्युत् उपयोग गरेर ग्रीन हाइड्रोजन प्रविधिमार्फत स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गत कृषि समितिको बैठकमा बोल्दै उनले किसानहरू मलको माग गर्दै सिंहदरबार धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले नेपालमा पर्याप्त विद्युत् उत्पादनको सम्भावना रहेकाले त्यसलाई कृषि क्षेत्रमा उपयोग गर्न सकिने उल्लेख गरे। “विद्युत् प्रयोग गरी ग्रीन हाइड्रोजन प्रविधिमार्फत मल उत्पादन गर्ने विषयमा अब गम्भीर छलफल हुनुपर्छ,” उनले भने।
सांसद खनालले कृषि मन्त्रालयले प्रभावकारी र दक्ष ढंगले काम गर्नुपर्नेमा पनि जोड दिए। उनले इजरायको उदाहरण दिँदै, मरुभूमि जस्तो भूगोल भएको देशले आधुनिक प्रविधिबाट कृषि क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए।
“बालुवा मात्रै भएको इजरायलले सुन फलाउन सक्छ भने पहाड, हिमाल र तराई भएको नेपालले किन सक्दैन रु कृषि उत्पादनको ठूलो सम्भावना हामीसँग छ,” उनले भने।
नेपाल कृषिप्रधान देश भए पनि किसानहरू अझै मल र बीउका लागि राज्यसँग आश्रित हुनुपर्ने अवस्था दु:खद भएको उनको भनाइ थियो। देशको खाद्य आवश्यकता पूरा गर्ने किसानले नै मल र बीउका लागि संघर्ष गर्नुपर्नु विडम्बनापूर्ण रहेको उनले बताए।
२०८३ जेठ १ गते शुक्रवार १८:११ बजे प्रकाशित






















